सौगात र बेनिशाको ‘सिटामोल’ को मनछुने टिजर


साउन २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’ को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा चलचित्र को १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ ।

‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट सुरु हुने चलचित्र को मर्मस्पर्शी टिजरबाट निर्देशक राज बहादुर सानेले कथावस्तुबारे प्रकाश पारेका छन् । टिजरमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार चढावले दर्शकमाझ उत्सुक्ता पैदा गर्न सफल देखिन्छ ।

चलचित्र मा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

प्रतिक्रिया दिनुहोस्