‘जनै हराएको मान्छे’ को टिजरमा विजयको सपना र धोकाको कथा
भदौ ६ गतेबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । सपना, संघर्ष, प्रेम र धोकाको कथा प्रस्तुत टिजर विजय बरालको कोरिया जाने सपना र त्यसको बीचमा आउने उतारचढावको वरिपरि घुमेको छ।

विवाहको दृश्यसँगै सुरु हुने टिजर कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि घुमेको छ । टिजरमा चलचित्रका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतलाई देख्न सकिन्छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रका असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । चलचित्रमा रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महर्जन रहेका छन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् भने चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ । नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको चलचित्रमा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।