‘नत्र भने जिन्दगी व्यर्थ छ’ को चर्चाले ‘कोशेढुंगा’ लाई कति पुग्ला फाइदा ?
चलचित्र ‘कोशेढुंगा’ रिलिजको तयारीमा रहेको छ। यहि भदौ १२ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रको प्रचारप्रसारमा यतिबेला निर्माण टिम तीव्र रुपमा लागेको छ। मिडियाका अन्तर्वार्ता देखि सार्वजनिक कार्यक्रममा चलचित्रको टिमको व्यस्तता व्यापक रहेको छ। चलचित्रको ट्रेलरले दर्शकमा एक प्रकारको उत्साह जगाएको छ। तर चलचित्रलाई सबैभन्दा फाइदा भने गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ ले दिएको छ। यो बर्षको तीजमा सर्वाधिक बजेको गीत मध्ये एक बनेको छ यो गीत। हरेक तीजका जमघटमा यो गीतमा महिला दिदीबहिनी नाचिरहेका छन्। यसले चलचित्रको प्रचारमा थप टेवा पुर्याएको छ। सामाजिक संजालमा पनि यो गीतमा टिकटक र रिल्स बनाउनेको भीड उस्तै रहेको छ।

यसको प्रभाव हलमा पनि देखिनेमा निर्माण टिम ढुक्क रहेको छ। केहि हलहरुले चलचित्रको अग्रिम बुकिङ्ग पनि खुलाएका छन्। बजारमा नेपाली चलचित्रको आक्रामक व्यापार भैरहेको समयमा यो चलचित्रले दर्शकको साथ पाउने अपेक्षा गरिएको छ।पूर्णबहादुरको सारंगी निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा सुरक्षा पन्त, ऋचा शर्मा, आर्यन सिग्देल, नीति शाह, मन्जिल कुमार, सरोज खनाल, प्रविन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ।
नरदेवी फिल्मसले प्रस्तुत गरेको चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ । ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।