समिरको एक्सनले भरिएको ‘बलिदान’ ट्रेलर


दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बलिदान’ को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ उत्सुकता जगाइसकेको चलचित्रले ट्रेलर मार्फत त्यो चर्चालाई कायम राखेको छ।

ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत छिन्। उनले छोरासँग, “देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्तबीजहरूलाई तैँले संहार गर्नेछस्” भन्दै वचन लिन खोज्ने दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ।

यसपछि अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले उच्च स्वरमा घोषणा गर्छन् – “मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु”। यो संवादसँगै उनी एक्सनमा उत्रन्छन्।

ट्रेलरमा अर्पण थापा, सौगात मल्ल र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् भने समीर र सौगातबीचको द्वन्द्व दृश्य देख्न सकिन्छ।

‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् भने चलचित्रलाई सन्तोष शेनले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्