देउसी भैलो खेल्दै ‘परान’ प्रचारमा केकी र अन्जना
कार्तिक १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परान’ यतिबेला प्रचारप्रसारमा व्यस्त रहेको छ। ट्रेलर सार्वजनिक गर्दै आफ्नो प्रचारलाइ तिब्रता दिएको टिम यतिबेला तिहारको छेको पारेर देउसी भैलो कार्यक्रममा जुटेको छ। चलचित्रका मुख्य दुई नायिका केकी अधिकारी र अन्जना बराइलीले यमपन्चकको पहिलो दिनको साँझमा देउसी खेलेका छन् ।

आइतबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो बिशेष कार्यक्रममा ‘परान’ टिमको सहभागीता थियो । जसमा नायिकाद्धय केकी र अन्जनासँगै चलचित्रका निर्देशक दिपक प्रसाद आचार्य लगायतको उपस्थिती थियो । साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो । जसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए ।
नायिका केकी अधिकारीले पनि तिहार गीत गाउँदै देउसी भट्याएकी थिइन् । साथै अर्की नायिका अन्जना बराइलीले पनि तिहारका आफ्नो बाल्यपनका रमणीय पलहरु सम्झिएकी थिइन् । नायिका केकीले तिहारमा सबैतिर झिलीमिली हुनेभएकाले पनि तिहार सुरुभएसँगै खुसीयाली छाएको बताइन् ।