‘जेरी अन टप’ अब मलेसियामा प्रदर्शन हुने


नेपाली बक्स अफिसमा हिट बनेको चलचित्र ‘जेरी अन टप’ विदेशमा पनि आकर्षक व्यापारको आंकड कायम गर्न सफल भएको छ। यहि बीचमा चलचित्रको मलेसिया प्रदर्शन अधिकार बिक्रि भएको छ। नेपाली बक्स अफिसमा १२ करोड माथिको व्यापार गरेको चलचित्रको मलेसिया अधिकार हरि भट्टराईले खरिद गरेका छन्।

डिसेम्बर पहिलो साताबाट मलेसियामा ‘जेरी अन टप’ वक्स अफिस रिलिज गर्ने भट्टराईले बताए । ‘मुख्य शहरमा वक्स अफिस रिलिज गर्ने र नेपालीहरूको बाहुल्यता रहेका अन्य ठाउँमा जुन माध्यमबाट सहज हुन्छ त्यहि विकल्पमा चलचित्र प्रदर्शन गर्ने तयारीमा छौं, भट्टराइले भने ।

नेपालसँगै अष्ट्रेलिया, अमेरिकामा एकसाथ वक्सअफिस रिलिज भएको यो चलचित्र यूरोप, मध्यपूर्व लगायतका विभिन्न देशहरूमा प्रदर्शनमा छ भने यूके, कोरिया र थाइल्यान्डमा पनि प्रदर्शनको क्रममा छ । अभिनेता अनमोल केसीको करियरकै सर्वाधिक विजनेस गर्न सफल चलचित्र अन्तर्राष्ट्रिय बजारमा पनि उच्च मागका साथ प्रदर्शन भइरहेको छ ।

अनन्या फिल्मस् को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिसहित निर्माण भएको चलचित्रमा सुयोग गुरुङको निर्देशन छ । चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायत अभिनयमा छन् ।

प्रतिक्रिया दिनुहोस्