‘रोल नं. १’ को पहिलो चरणको छायांकन सकियो


सेभेन सिज सिनेमाको प्रस्तुतिमा तयार भैरहेको चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । ४२ दिन लगाएर म्याग्दीका विभिन्न स्थानमा चलचित्रको पहिलो चरणको छायांकन सम्पन्न भएको निर्माण टिमले जानकारी दिएको हो। दुई साताको ‘वर्कसप’ पछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु भएको चलचित्रको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो । विनोद पौडेलको निर्माणमा तयार भैरहेको चलचित्रले चिसो मौसममा बाबजुद तोकिएको समय भन्दा पहिले नै छायांकन सम्पन्न गर्न सफल भएको हो।

पौडेल भन्छन्, “हामी ४५ दिनको तालिका लिएर निस्केका थियौं, ४२ दिनमा म्याग्दीको सेड्युल सक्यौं । कलाकारहरूलाई भन्दा पनि प्राविधिक टोलीलाई चिसोले बढी गाह्रो बनायो । विशेषगरी रात्रिकालीन दृश्यहरू खिच्दा १० बजेपछि तापक्रम निकै घट्ने भएकाले काम गर्न कठिन हुन्थ्यो ।” चलचित्रका बाँकी दृश्यको छायांकन काठमान्डौमा हुनेछ । दोश्रो चरणको छायांकन पनि चाडै सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ।

जोन योञ्जनको निर्देशन तथा कथामा तयार भइरहेको चलचित्र ‘बाल मनोविज्ञान’ मा आधारित छ । चलचित्रको कथा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र जित्नैपर्ने मानसिकताको प्रभाव वरिपरि केन्द्रित रहेको छ । चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्