‘परान’ को प्रदर्शनको ७५ औ दिन पार


चलचित्र ‘परान’ ले प्रदर्शनको ७५ औ दिन पुरा गरेको छ। हिजो निर्माण टिमले ७६ दिन पार गरेसंगै केहि दिनको लागी टिकटमा ७५ रुपैंया छुटको व्यवस्था गरेको छ । ‘परान हेर्न छुटाउनु भएका आदरणीय दर्शकहरुलाई ७५ औं दिनको सेलिब्रेशनसँगै यो छुटको ब्यवस्था गरेका हौं ।’ चलचित्रका निर्माता रन्जित आचार्यले भने, ‘परान हेर्न बाँकी हुनु भएका दर्शकहरुलाई हेर्न आग्रह गर्दछु ।’ यो छुटको ब्यवस्था केहि दिनका लागी गरिएको हो ।

निर्माता आर्चायका अनुसार यो छुट खल्ती एपबाट टिकट काट्नेहरुका लागी मात्र ब्यवस्था गरिएको हो । खल्ती एपबाट टिकट काट्दा ७५ रुपैंया क्यासब्याक पाउन सकिनेछ । ‘परान’को आज (मंगलबार) काठमाडौंमा मात्रै पनि पाँचवटा शो रहेको थियो । खल्ती एपमा भोलीका लागी पनि ६ वटा शो उपलब्ध छन् ।

चलचित्रको टिमले हिजो साँझ सिटी स्वियरमा ४ बजेको शो हेरिरहेका दर्शकमाझ केक काटेर ७५ औं दिनको सेलिब्रेशन गरेको छ। चलचित्रले पछिल्लो शनिबार (७२ औं दिन)सम्म आइपुग्दा १७ करोड ७४ लाख २२ हजार १९० रुपैंया कलेक्सन गरेको चलचित्र बिकास बोर्डले तथ्यांक सार्वजनिक गरिसकेको छ ।

दिपक प्रसाद आचार्य ‘काकु’ को निर्देशन र कथामा तयार भएको चलचित्रमा गोल्छा समूह र प्रिज्मा समूहको लगानी रहेको छ।चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्