जेठ १५ बाट प्रदर्शनमा आउँदै चलचित्र ‘रोल नं. १’
सेभेन सिज सिनेमाको प्रस्तुतिमा तयार भएको चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वसन्त पञ्चमी अवसर पारेर चलचित्रको रिलिज मिति निर्माण टिमले सार्वजनिक गरेको हो। यो चलचित्र गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट रिलिज हुनेछ। २०८३ को यो मितिको लागी निर्माण टिमले आफ्नो प्रदर्शन मिति तय गरेको हो।

चलचित्रका मुख्य बाल-कलाकारहरू अध्ययन गर्ने विद्यालय ‘पाथिक ज्ञान निकेतन’ मै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो । निर्माता विनोद पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ ।
चलचित्रको मुख्य हिस्सा म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा खिचिएको छ । बाल मनोविज्ञानमा आधारित रहेर तयार पारिएको चलचित्रलाई जोन योञ्जनले निर्देशन गरिरहेका छन्। महेश दवाडीको लेखन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन् । चलचित्रको बाल-कलाकारमा निर्भीक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं हुन् ।




