तीन हजार यौनकर्मीको जीवन कथामा आधारित फिल्म ‘लालिमा’ फागुन २९ बाट
काठमाडौँ – फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले मङ्गलवार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।
यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छिन् । नायिका उषा रजक, नायकहरू शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिका छन् ।

निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो ।
फिल्ममा ‘लालिमा’को भूमिका नायिका रोशनीले निर्वाह गरेकी छन् । उनको आमाको भूमिकामा उषा छिन् ।
फिल्मबारे निर्देशक मिराजका भन्छन्, ‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारागार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् । यही कथामा फिल्म बनेको हो ।’
पोस्टरमा नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ । उनले एक झ्यालको छेउमा सङ्कटमा परेर बसिरहेको देख्न सकिन्छ । उनको शरीरको माथिल्लो भागको कपडा छैन । एक सेतो कपडाले उनले शरीर छोपेकी छन् । उनको लाली लतपतिएको लालीले उनको चरित्रप्रति संशय पैदा गर्छ ।
‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नझुक्ने मानवीय साहसको कथा रहेको निर्देशक मिराजको तर्क छ ।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक मिराज आफैँ हुन् ।




