‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा प्याकअप

काठमाण्डौँ I ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘झिँगेदाउ २’को छायाङ्कन ६३ दिनमा सकिएको छ । बुधवार चितवनमा अन्तिम दृश्य खिच्दै सिनेमाको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण टिमले जानकारी दिएको छ ।
निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मङ्सिरमा छायाङ्कन निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढी समय लागेको छ । पहिलो भागको सफलता मर्न नदिन र दोस्रो भागलाई अझ त्यो भन्दा उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो सिनेमा दर्शकले हेर्न पाउने विश्वास निर्देशक ज्ञानेन्द्रको छ ।
अर्को वर्षको दसैँमा रिलिज हुने सिनेमाको अबको केही दिनमा पोष्ट-प्रोडक्सनको काम सुरु हुनेछ । काभ्रेको पनौतीबाट छायाङ्कन सुरु भएको सिनेमाको त्यसपछि काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र छायाङ्कन गरिएको हो ।
कपनगढी सिनेमा प्रा. ली. र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको सङ्गीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन् ।
विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन रहने सिनेमाको निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन् ।




