रेखा थापाको निर्देशनमा चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा
नेपाली चलचित्र क्षेत्रकी सुपरस्टार अभिनेत्री रेखा थापाको निर्देशनमा तयार हुने चलचित्र ‘माया भनेकै यस्तो होला’ को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रीको अवसर पारेर घोषणा गरिएको चलचित्र मार्फत करिव ८ बर्षपछि रेखा निर्देशनमा फर्कन लागेकी हुन्। यस अगाडी उनले ‘हिम्मतवाली’ र ‘मालिका’ चलचित्र निर्देशन गरेकी थिइन्।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका रहनेछ । चलचित्रमा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहनेछ ।
निर्माण घोषणासंगै चलचित्रको टिमले दुईवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । चलचित्रको एक पोष्टरमा दिल श्रेष्ठको साथमा तीन अभिनेत्रीहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह प्रस्तुत छन् । यसले एक भन्दा बढी प्रेममा परेको पुरुषको कथा बोलेको देखिन्छ।
अर्को पोष्टरमा अभिनेता दिल वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको साथमा भावुक मुद्रामा देखिएका छन् । ह्विलचेयरमा बसिरहेका मदनकृष्ण श्रेष्ठको हात समातेर भुइँमा बसेका दिल श्रेष्ठको मुद्राले सन्तानको कर्तव्य र बुढेसकालको सहाराको कथालाई प्रस्तुत गरेको छ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने संकेत दिएको छ । निर्माण पक्षका अनुसार चलचित्रको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । निर्माण टोलीले यस चलचित्रलाई आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
पत्रकार सम्मेलनमा निर्देशक रेखा थापाले यो चलचित्र हाम्रो आफ्नै समाजमा घटेका घटनामा रहेको बताइन् । उनले भनिन्, “यो चलचित्रमा तपाईँको जीवनमा घटेका, मेरो जीवनमा घटेका र समाजले अनुभूति गरेका विषयहरूलाई उठाइएको छ। एउटा निर्देशकाको रूपमा मैले यसलाई मानिसहरूकै कथाको रूपमा प्रस्तुत गरेकी छु।”
चलचित्रमा तीन जना पूर्व मिस नेपालहरू श्रृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलाई एकैसाथ देख्न पाइने बारेमा स्पष्ट पार्दै रेखाले थपिन्, “मिस नेपालको ट्याग भएका कारणले मात्र उहाँहरूलाई लिएको होइन । मेरो चलचित्रको विषयवस्तु र कथाको माग अनुसार नै श्रृष्टि, नम्रता र नीति फिट हुनुभएकाले उहाँहरूलाई छनोट गरिएको हो ।”
चलचित्र घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रेखा थापाको निर्देशनमा काम गर्न पाउनु आफूलाई एउटा छुट्टै संसारमा प्रवेश गरे झैँ लागेको बताए । उनले भने, “म केबल हास्य कलाकार मात्र होइन, ‘परान’ जस्ता चलचित्रबाट मैले आफूलाई गम्भीर भूमिकामा पनि प्रमाणित गरिसकेको छु । यस चलचित्रमा पनि मेरो सशक्त भूमिका रहनेछ ।”
१० वर्षपछि लेखनमा फर्किएका लेखक ध्रुव लम्सालले स्क्रिप्टमा निकै मिहिनेत गरिएको बताए ।



