तुलसी घिमिरेको ‘पहाड’ नयाँ बर्षमा रिलिज तय


तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘पहाड’ को प्रदर्शन मिति तय भएको छ। चलचित्र २०८३ को बैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको चलचित्रले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखक समेत रहेका निर्देशक घिमिरेले बताए ।

‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ पछि सुनिल थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन् । उनले पुराना कलाकार झैँ नयाँमा पनि आफ्नो पात्र र काम प्रतिको समर्पण उस्तै पाएको बताए ।

ओजस्वी केसी निर्माता रहेको चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेली फिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् ।

प्रतिक्रिया दिनुहोस्