‘लालिमा’ दुई नायिकाको फरक अनुभूति: रोशनीको डेब्यु, आमाको भूमिकामा उषा


फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’ मा अभिनय गरेका दुई नायिका रोश्नी कार्की र उषा रजकले विगतका चलचित्रमा भन्दा यसमा काम गर्दाको फरक अनुभव सेयर गरेका छन् । ‘लालिमा’मा नायिका रोश्नी कार्कीले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी छन् । यो नै उनको करिअरको एक विशेष फरक अनुभव हो । त्यसमाथि उनको पात्रको नामबाटै चलचित्रमाको शीर्ष राखिएको छ । चलचित्रको शिर्ष भूमिकाको अफर आउँदा आफु उत्साहित र नर्भस भएको रोशनीको अनुभव रहेको छ।

उनी भन्छिन्, ‘मलाई शीर्ष भूमिकाको प्रस्ताव आउँदा चुनौती महसुस भएको थियो । चलचित्र नै आफ्नो काँधमा लिएर हिड्न सक्छु कि सक्दिनँ भन्ने डर पनि लागेको थियो ।’ चलचित्रको पात्र ‘लालिमा’ निर्माणका लागि पनि आफूले व्यक्तिगत रुपमा नौलो अभ्यास गरेको उनले बताइन् ।

उनी भन्छिन्, ‘यो चलचित्रमा मैले यौनकर्मीको भूमिका निर्वाह गरेको छु । यौनकर्मीहरू मैले कहिल्यै देखेको पनि थिइनँ, न निगरानी नै गरेको थिएँ । यही कारण मैले पात्र निर्माणका लागि यौनकर्मीहरूसँग भेट्नुपर्यो । यो मेरो फरक अनुभव हो ।’

नायिका उषा रजक यो चलचित्रमा ‘आमा’को भूमिकामा छिन् । यो पात्रको शारीरिक विशेषता फरक क्षमता (बोल्न नसक्ने) छ । ‘लालिमा’मा जस्तै फरक क्षमताको पात्र उनले पहिल्यै निर्वाह गरेको थिइन् । तर, उनले आफ्नो दुई दशकभन्दा लामो अभिनय करिअरमा लिएको पहिलो निर्णय हो– आमाको भूमिकामा निर्वाह गर्ने ।

प्रायः बोल्ड एन्ड ब्युटी नायिकाको भूमिकामा देखिने उनी यस पटक आमाको क्यारेक्टर भूमिकामा देखिएकी छन् । यसबारे उषा भन्छिन्, ‘मलाई सामाजिक सञ्जालमा ‘अब तपाईंको उमेरअनुसारको क्यारेक्टर गर्नुस्’ भनेर प्रतिक्रिया आएको थियो । दर्शकको त्यही प्रतिक्रिया वा सुझावलाई मनन गरेर म आमाको भूमिकामा देखिएकी हुँ ।’

लालिमामा यी दुई नायिकासँगै जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । रोशन मिराजको लेखन र निर्देशनमा बनेको चलचित्र फेथ आस्थाको प्रस्तुति र कार्यकारी निर्माता रीना लामा हुन् ।

प्रतिक्रिया दिनुहोस्