आंचल शर्माको ‘एक मुठी बादल’ जेठमा रिलिज तय
चलचित्र ‘एक मुठी बादल: माई सेयर अफ स्काई’ जेठ १ गतेबाट प्रदर्शनमा आउने भएको छ। गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको निर्माणमा तयार भएको चलचित्रको अधिकाशं जिम्मेवारी महिलाले सम्हालेका छन्। तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने चलचित्रले द्रुत गतिमा परिवर्तनशील नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गर्नेछ । चलचित्रमा सहारा शर्माको लेखन तथा निर्देशन रहेको छ। सहारा अमेरिकाको न्युयोर्कमा बस्दै आएकी सहाराले ‘चेजिङ रेन्बोज’ शीर्षकको चलचित्र निर्देशन गरेकी थिइन् जुन चलचित्र २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ चलचित्र थियो ।

चलचित्र एक मुठी बादलले युरोपियन पोस्ट- प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली चलचित्रको रुपमा इतिहासमा नाम लेखाएको छ । योबाहेक चलचित्रले विश्वका प्रतिष्ठित ल्याबसँग सहकार्यको अवसर पाएको थियो । २०२१ मा निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडिसी (NFDC) फिल्म बजारमा रोटरेड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए । यसैगरि चलचित्रले फ्रान्सको कान फिल्म फेस्टिभलमा मार्चे डु फिल्मसँग सम्बन्धित कार्यक्रमहरू, स्विट्जरल्याण्डको लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी र बंगलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा सहभागिता जनाएको थियो ।
अभिमन्यु दीक्षितले निर्माण गरेको चलचित्रमा निकुन श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन्। त्यस्तै चलचित्रको निर्माण टोलिमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्। चलचित्रको केन्द्रिय भूमिकामा अभिनेत्री आंचल शर्मा रहेकी छिन्। उनको साथमा चलचित्रमा निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ ।


