‘लालिमा’ को एडभान्स बुकिङ्ग खुल्यो, भोलिबाट रिलिज हुँदै


देश निर्वाचनको माहोलमा रहेको बेलामा चलचित्र सम्बन्धि गतिबिधि शुन्य सरह रहे। निर्वाचनको समयमा सिनेमा घर कतिपय बन्द अवस्थामा रहेका थिए। अब मतगणना सकिदै गर्दा चलचित्र बजार पनि चलायमान हुने तयारीमा रहेको छ। दर्जन बढी चलचित्र यतिबेला छायांकनमा रहेका छन् भने चलचित्र रिलिजको क्रम पनि सुरुवात भएको छ। यहि शुक्रबारबाट चलचित्र ‘लालिमा’ रिलिज हुँदैछ। नेपालमा रहेका तीन हजार बढी यौनकर्मीको अनुभवमा चलचित्र तयार भएको छ। महिला यौनकर्मीको भोगाई र अवस्थालाई चित्रित गरिएको चलचित्रको एडभान्स बुकिङ्ग खुलेको छ।

यो चलचित्रले ५० बढी शो पाएको छ। चलचित्रको शिर्ष भूमिकामा रोशनी कार्की रहेकी छिन्। यो उनको पहिलो शिर्ष भूमिकामा रहेको चलचित्र हो। चलचित्रमा उनको साथमा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सबिन कट्टेल, घनश्याम जोशी लगायतका कलाकारको अभिनय रहेको छ। फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेको चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन्। चलचित्रमा रोशन मिराजको लेखन तथा निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्