‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक
अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘लालीबजार’ को पहिलो गीत सार्वजनिक भएको छ। दीपिका बयम्बु मगर र खेम सेन्चुरीको स्वरमा रहेको ‘मायालाई के दिऊँ म बैना’ गीत निर्माण टिमले सार्वजनिक गरेको हो। रमेश बिजीको शब्द रचना रहेको गीतमा गायक सेन्चुरी स्वयंको संगीत रहेको छ।

प्रदिप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ। अभिनेत्री स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको डान्स इनर्जी आकर्षक देखिएको छ भने भिडियोमा कोरियोग्राफर लामाको समेत नृत्य रहेको छ। रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटा पनि भिडियोमा प्रस्तुत भएका छन्। निर्माण टिमले सेट देखि कोरससम्म निकै मिहेनत गरेको भिडियोमा देख्न सकिन्छ।
यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको छ। रविन्द्र सिंह बानिया र दिपेश म्याक्स खत्री निर्माता रहेको चलचित्रमा प्रदिप भट्टराई कार्यकारी निर्माताको रुपमा रहेको छ। चलचित्रमा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निर्देशक थापाको नै कथा रहेको चलचित्रको संवाद र पटकथा यम र प्रदीप भट्टराईले लेखेका हुन् ।
चलचित्रमा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्यूजिक, प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ । बैशाख १८ गतेबाट चलचित्र सार्वजनिक प्रदर्शनमा आउंदैछ।


