सकियो निखिल र बर्षाको ‘कस्तुरी’ छायांकन
चलचित्र ‘कस्तुरी’ को केहि दृश्य बाहेकको महत्वपूर्ण छायांकन सकिएको निर्माण टिमले जानकारी दिएको छ। निखिल उप्रेती र बर्षा शिवाकोटी प्रमुख भूमिकामा रहेको चलचित्रको गाउँको केहि दृश्य र गीत बाहेक सम्पुर्ण छायांकन सकिएको छ। ३५ दिनमा यी बाहेक सबै दृश्यको छायांकन सम्पन्न भएको निर्माण टिमले जानकारी दिएको हो। ऋत बोहोराको निर्देशनमा तयार भैरहेको चलचित्रको बारेमा उनले भने,‘ हामीले चलचित्रको छायांकन थालेको ३५ दिनमा करिव छायांकन सकेका छौ। चलचित्रको गीत र गाउँको केहि दृश्य खिच्न बाँकी रहेको छ।’

काठमाडौं जिल्ला आसपासमा खिचिएको चलचित्रले रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्नेछ। चलचित्रको मुख्य भूमिकामा रहेका निखिल र बर्षाले पहिलोपटक संगै स्क्रिन शेयर गरेका हुन् । यी दुईको साथमा चलचित्रमा शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी,अर्जुन गुरुङ, भोलाराज सापकोटा,सबी थापा, प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहेको छ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता धिरज कुमार अग्रवाल हुन्। अञ्जली चौधरी चलचित्रको सह- निर्माता हुन्। निर्देशक बोहोराको नै कथा चलचित्रको प्रमुख सह–निर्देशक ललित बिष्ट हुन्। चलचित्रको रिलिज मिति तय गरिएको छैन।


