दशैँमा अनमोलको ‘बाटुलो जुन’ रिलिज तय
अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहेको चलचित्र ‘बाटुलो जुन’ ले प्रदर्शन मिति तय गरेको छ। आज अनमोलको जन्मदिनको अवसर पारेर निर्माण टिमले दशैँलाई रिलिज मिति तय गरेको हो। चलचित्र असोज ३० गते फूलपातीको अघिल्लो दिन बाट सार्वजनिक प्रदर्शनमा आउनेछ। अनमोलको ‘जेरी अन टप’ असोज ३१ गतेबाट रिलिज भएको थियो। यो उनको करियरको सर्वाधिक कमाई गर्ने चलचित्र हो।

दशैँमा धेरै चलचित्रले रिलिज घोषणा गरिसकेका छन्। छ माया छपक्कै २, झिङ्गे दाउ २, आ बाट आमा २ लगायतले दशैँलाई आफ्नो रिलिज मिति घोषणा गरेका छन्। यहि मितिमा १२ गाउँ २ पनि आउने चर्चा रहेको छ। तर अफिसियल रिलिज मिति भने बाटुलो जुनले मात्र गरेको छ । अन्य चलचित्र कति गते आउने भन्ने टुंगो लागेको छैन।
रिलिज मितिसंगै चलचित्र ‘बाटुलो जुन’ को टीमले एक पोष्टर पनि सार्वजनिक गरेको छ। नव- नायिका प्रिन्सी खतिवडा र अनमोल पोष्टरमा देखिएका छन्। पूर्णिमाको जूनलाई पृष्ठभूमीमा राखिएको पोस्टरमा अनमोलले एक हातमा राँको बोकेका छन् भने अर्को हातले पर्खालमा उभिएकी प्रिन्सीको खुट्टा समाएका छन् ।
ग्रामिण परिवेशको प्रेमकथा जोडिएको चलचित्रको निर्माता जीया केसी र भविष्य खड्का हुन् । ‘चलचित्र हेरिरहँदा दर्शकले आफुलाई ३० वर्ष पहिलेको नेपाली समाजमा पाउनुहुनेछ, साथमा वर्तमानको आभाष उत्तिकै हुनेछ’, निर्माता केसीले भनिन् । जीवनको कुनै न कुनै समयमा प्रेमको स्पर्श गरेका जुनसुकै वर्गका दर्शकको लागि यो चलचित्र समर्पित छ’, उनले थपिन् ।
चलचित्रमा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय समावेश छ । चलचित्रलाई भुवन केसीले निर्देशन गरेका छन्। यो चलचित्रलाई काठमाडौ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिएको छ । चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।
प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहेको छ । करिब १० प्रतिशत छायांकन बाँकी रहेको र यहिँ नयाँवर्ष २०८३ को छेकोमा पोखरामा सेड्यूअल लक गरिएको कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।


