‘लालीबजार’ नयाँ पोष्टर: स्वस्तिमा संगै डेव्यु नायक बिशाल
बैशाख १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काको साथमा डेव्यु नायक विशाल देवकोटा फिचर रहेका छन्। विशाल रंगमंचका परिचित कलाकार हुन्। अडिसन मार्फत छनोट भएका विशालको अभिनय कला अद्भुत रहेको निर्माण कम्पनी षट्कोण आट्र्सले जनाएको छ ।

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरता स्वरूप चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । विशाललाई पछिल्लो समय उदयीमान कलाकारको रुपमा हेरिएको छ । उनले नाटकमा अभिनय गर्दा देखाएको कलाकारिताको राम्रै चर्चा हुन् थालेको छ ।
‘सानैदेखि कलाकार बन्ने इच्छा थियो, त्यही सपना पछ्याउँदै आज यहाँसम्म आइपुगेको हुँ,’ उनले भने ।
उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी चलचित्रमा छनोट भएका थिए । यसरी रंगमञ्चको अनुभवले उनलाई चलचित्रमा प्रवेश गर्ने ढोका खोलेको उनले बताएका छन् ।
बर्दियाको राजापुरमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ । यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता प्रदिप भट्टराई हुन्।


