भेनिसमा प्रिमियर भएको चिनियाँ चलचित्र निफमा प्रदर्शन
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पेमा छेडनद्वारा निर्देशित चलचित्र ‘स्नो लियोपार्डְ’ प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भएको यस चलचित्र निफ अन्तर्गत ‘सिजाङ पानोरमा’ मा प्रदर्शन गरिएको हो ।

तिब्बती गोठालाहरूको जीवन र मानव-वातावरणबीचको सहअस्तित्वको कथामा बनेको यस चलचित्रले भेनिसमा समेत चर्चा पाएको थियो । सिजाङ पानोरमा अन्तर्गत शनिबार अन्य तीन चलचित्र ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ र ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन भए । यी तीनै चलचित्र भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा प्रदर्शन भएका हुन् ।
गुओ यिफीको निर्देशनमा बनेको ‘होम अवे होम क्लोज’ ले स्थानीय गोठालाहरूका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक जटिलता सामना गर्ने एक युवकको कथा प्रस्तुत गरेको छ । चलचित्र ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ को निर्देशक ज्याक मालाटेरे हुन् । यस चलचित्रले शैक्षिक मुद्दा उठान गरेको छ ।
सियाओ सियाओवाईको निर्देशनमा बनेको चलचित्र ‘सनराइज ओभर द प्लेटो’ ले साधारण परिवारहरूको शिक्षा,अर्थतन्त्र र संस्कृतिमा आएको असामान्य परिवर्तनहरूलाई उजागर गरेको छ ।यस पानारोमा अन्तर्गत आइतबार चलचित्रहरू ‘वारियर किङ’ र ‘डिस्कोभरिङ सिजान २०२६’ पनि प्रदर्शन हुनेछ । निफअन्तर्गतको ‘सिजाङ पानोरमा’मा प्रतिस्पर्धा बाहिरको विशेष प्रदर्शन कार्यक्रम हो ।
निफमा शनिबार प्रतिस्पर्धामा रहेका चलचित्रहरू सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा प्रदर्शन भए । पर्यटनमा बोर्डमा ‘निफ फिचर पिच’ कार्यक्रम पनि भएको थियो । जसमा नयाँ र युवा लेखकहरूले निर्मातालाई कथा सुनाएका थिए ।


