‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दशैँमा रिलिज तयारी
अभिनेता पल शाहलाई लिएर चलचित्र ‘महाराजधिराज’ को घोषणा केहि बर्ष अगाडी नै भएको थियो। बीचमा उनी चलचित्रबाट बाहिरिएपछि चलचित्रको निर्माण रोकिएको थियो । अव चलचित्रमा पुष्प खड्काको प्रवेश भएको छ। उनलाई मुख्य भूमिकामा लिएर चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरिएको छ। पोष्टरमा पुष्पका भिन्न दुई लुक्स सार्वजनिक गरिएको छ। एउटामा पुष्प पूर्ण राजकीय ठाँटमा देखिएका छन् । उनले शिरमा श्रीपेच, हातमा राजदण्ड र शरीरमा राजर्षि पहिरन लगाएका छन्, जसले उनी चलचित्रमा राजाको भूमिकामा रहेको स्पष्ट संकेत गर्छ । तर, अर्को तस्बिरमा भने उनी पूर्ण नग्न र शारीरिक रूपमा अत्यन्तै दुब्लो एवं कमजोर अवस्थामा देखिएका छन् । एक ‘भिन्जेट’ कुर्सीमा बसेका ती कमजोर पात्रको पछाडि राजाको पोसाकमा सजिएका पुष्प उभिएका छन् ।

निर्माण पक्षले पोस्टरका साथमा एउटा अर्थपूर्ण स्लोगन पनि सार्वजनिक गरेको छ, ‘सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् ।’ पुष्पले यो चलचित्रमा अनुबन्ध हुँदा आफ्नै औंला काटेर रगतको औंठा छाप लगाएका थिए । सामान्यतया कलाकारहरूले कागजमा हस्ताक्षर गरेर चलचित्र साइन गर्ने चलन छ ।
पुष्पले यो भूमिकालाई आफ्नो करिअरको सबैभन्दा ठूलो अवसर र चुनौतीका रूपमा लिएका छन् । उनले यो चलचित्रको निर्माण अवधिभर अन्य कुनै पनि चलचित्र, म्युजिक भिडियो मात्र होइन, टिकटक, इन्स्टाग्राम र युट्युब भिडियो जस्ता कुनै पनि दृश्य सामग्रीमा संलग्न नहुने घोषणा गरेका छन् ।
यही बैशाखको दोस्रो साता पछिबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रलाई परिच्छेद सेनले निर्देशन गर्नेछन्। चलचित्रमा पुष्पका साथै नीर शाह, आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल लगायत कलाकार छन् ।
निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’ मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले नयाँ र अग्रज गर्दै अभिनयमा अब्बल कलाकार आफूहरूको पहिलो रोजाइमा परेको बताए । कलाकारको बलियो लानअप अनुसार नै सिनेमा पनि बलियो बजाउने उनले प्रस्ट पारे ।
यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । नबराज थापाले यस चलचित्रलाई क्यामरामा कैद गर्नेछन् ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

