प्रियंकाको ‘मास्टरनी’ भदौ १२ मा रिलिज हुँदै, पहिलो झलक सार्वजनिक
चलचित्र ‘मास्टरनी’ को पहिलो झलक सार्वजनिक भएको छ । आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरिएको हो। भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रको सम्पूर्ण सुटिङ्ग सम्पन्न भैसकेको छ। १७ दिनमा काठमान्डौ र पोखरामा चलचित्रको सुटिङ्ग गरिएको हो।

चलचित्रमा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रुपमा रहेका छन्। चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन्। क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।
यी बाहेक धेरै कलाकारको सप्राइज चलचित्रमा दर्शकले देख्न पाउने निर्माण टिमले बताएको छ। अभिनेत्री प्रियंका कार्कीको कथा रहेको चलचित्रमा सान बस्नेतको स्क्रिप्ट रहेको छ भने स्क्रिन्प्ले र डाइलग प्रियंका र शानले नै तयार पारेका हुन्। चलचित्र भदौ १२ गतेबाट रिलिज हुनेछ।

