‘चिरन्जीवी भव:’ मा आशिर्बाद क्षेत्री अनुबन्ध
दिपकप्रसाद आचार्य काकु र कुमार कट्टेल जिग्रीले तयार पर्ने लागेको नयाँ चलचित्र ‘चिरन्जीवी भव:’ मा आशिर्बाद क्षेत्रीको इन्ट्री भएको छ। केहि दिन अगाडी चलचित्रको मुख्य भूमिकामा मोडल प्रसंसा रायमाझीको प्रवेश भएको थियो। निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ ।

नयाँ बर्षको अवसर पारेर औपचारिक घोषणा गरिएको चलचित्रलाई दिपकले निर्देशन गर्नेछन् भने कुमारले यसको कथा तयार पारेका छन्। लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने रहेका छन्। सामाजिक ड्रामा जनरामा तयार हुने चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ । उमेश कुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन् ।
‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय चलचित्र हो । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘परान’ वि.सं. २०८२ सालको सर्वाधिक कमाउने चलचित्र बनेको थियो । कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ ले पनि दर्शकको राम्रै साथ पाएको थियो।



