जितु नेपालको ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय
अभिनेता जितु नेपालले पछिल्लो समय कमेडी भन्दा बहिराका पात्रमा आफुलाई स्थापित गर्दै लागेका छन्। लगातार चलचित्र अभिनयमा देखिदै आएका नेपालले निर्माण गरेको चलचित्र ‘आइ एम जीत बहादुर’ को प्रदर्शन मिति तय गरिएको छ। असार ५ गतेलाई प्रदर्शन मिति तय गर्दै निर्माण टिमले चलचित्रको पहिलो झलक (पोष्टर) सार्वजनिक गरेको छ। गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको चलचित्रलाई भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका छन्। चलचित्रमा जितुको साथमा बर्षा राउत मुख्य भूमिकामा रहेकी छिन्।

चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री र देशभक्त खनाल, आर्यन सिग्देल लगायत कलाकारहरूको अभिनय रहेको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माता रहेका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ।



