असोज २ मा ज्ञानेन्द्रको ‘झिंगेदाउ २’ प्रदर्शन तय
सफल चलचित्र ‘झिंगेदाउ’ को दोश्रो पार्ट ‘झिंगेदाउ २’ को प्रदर्शन मिति तय भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र असोज २ गतेबाट प्रदर्शनमा आउनेछ। चलचित्रका मुख्य चार कलाकार समावेश पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति तय गरेको हो। असोज ३ गते परेको संविधान दिवसको पुर्वसन्ध्या पारेर चलचित्रको रिलिज मिति तय गरिएको हो।

यसअघि दशैंको फूलपातीमा प्रदर्शनमा आउने भनिए पनि उक्त मितिमा धेरै चलचित्र रिलिज तय भएको कारण आफुले सुरक्षित मिति रोजेको निर्देशक देउजाले बताए। सार्वजनिक पोस्टरमा अभिनेत्रीद्धय केकी अधिकारी र आँचल शर्मा र अभिनेताद्धय महेश त्रिपाठी र कुशल बिष्टलाई क्यारेक्टर लुक्समा प्रस्तुत छन् ।
कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको चलचित्रको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरे ‘कल्पित’को छायांकन , मित्र डि गुरुङको सम्पादन चलचित्रमा रहनेछ। काभ्रे, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवनमा छायांकन गरिएको चलचित्रको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् ।



