‘मालती मंगले’ को वर्ड अफ माउथ बलियो, बक्स अफिसमा चम्कदै
बैशाख २५ गतेबाट रिलिज भएको चलचित्र ‘मालती मंगले’ ले दर्शकको साथ बढाउदै गएको छ। सुरुवाती चरणमा सामान्य सुरुवात गरेको चलचित्रले शनिबार दिउँसोबाट भने दर्शकको चाप बढाएको छ। ‘वर्ड अफ माउथ’ बलियो रहेको कारण यो चलचित्रको व्यापारमा वृद्धि हुँदै गएको हो। अभिनेत्री बर्षा राउतको अभिनयले दर्शकको मन जितिरहेको छ। उनले आफ्नो करियरकै उत्कृष्ट मध्येको एक अभिनय चलचित्रमा प्रस्तुत गरेकी छिन्।

विजय बराल, मेक्सम गौडेल लगायतका कलाकारले पनि दर्शकको मन जितिरहेको छ। निर्माता तथा वरिष्ठ गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल लगायत दर्शकलाई भेट्न हलमा पुगिरहेका छन्। कलाकारको उपस्थितिले दर्शकमा थप उत्साह बढिरहेको छ।
‘चुड्का भजन’ बोलको गीत सार्वजनिक
राम्रो प्रतिक्रिया पाइरहेको चलचित्रको टिमले नयाँ गीत सार्वजनिक गरेको छ। चलचित्रमा समावेश ‘चुड्का भजन’ निर्माण टिमले सार्वजनिक गरेको छ। पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा किरण भुसाल स्वर र संगीत रहेको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्।




