‘लालीबजार’ लाई दर्शकको सकारात्मक प्रतिक्रिया, हलमा कलाकारको टिम


बैशाख १८ बाट रिलिज तयारीमा रहेको चलचित्र ‘लालीबजार’ कानुनी झमेलामा पर्यो। तर ती सबै झमेला पार गर्दै बैशाख २५ गतेबाट चलचित्र प्रदर्शनमा आयो। बादी समुदायको पिडा भित्र सन्तानका लागी आमाले गर्ने संघर्षको कथा बोलेको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। मास ओपनिङ्ग चलचित्रले नगरेपनि वर्ड अफ माउथ बलियो भएको कारण यो चलचित्रले लामो यात्रा तय गर्ने अपेक्षा गरिएको छ। कलाकारको अब्बल अभिनय, उत्कृष्ट छायांकन र निर्देशकको राम्रो भिजनले चलचित्र अब्बल बनेको छ ।

सोहि प्रतिक्रिया दर्शकले हलमा दिईरहेका छन्। स्वस्तिमा खड्काले प्राण भरेको चलचित्रको अन्य कलाकारले पनि उत्कृष्ट अभिनय गरेका छन्। यम थापाको निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, समाइरा थापा लगायतका कलाकारको अभिनय रहेको छ। कलाकारको टिम काठमान्डौका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिईरहेको छ।

दर्शकको साथले अभिनेत्री खड्का दंग देखिएकी छिन्। उनले भनिन्, ‘हामीले चलचित्र मार्फत देखाएको विषयलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको छ । महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएका छन् । चलचित्र हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण आमा र छोरीको कथा भन्नुभएको छ । स-परिवारलाई नै दर्शकका रुपमा हलमा पाउँदा उत्साहित छु ।’

निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको चलचित्रको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्