‘रोल नं १’ टिमको नयाँ स्किम ‘गेट चान्स टु विन क्यास प्राइज’
जेठ १५ गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘रोल नं १’ यतिबेला प्रचार प्रसारमा व्यस्त रहेको छ। दर्शक भेट्न देशभर दौडधुप गरिएको चलचित्रको टिमले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । चलचित्रको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो ।

निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अफर ल्याएको हो । यो प्रतिस्पर्धाका लागि चलचित्र ‘रोल नं १’ सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ ।प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । आफ्नो वास्तविक स्कुल जीवनको कथा सुनाउनुपर्नेछ । कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्व, गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झना, सपना र लक्ष्य तथा संघर्ष र मेहनतलगायत विषय समेट्न सकिनेछ ।
भिडियो छोटो, मिठो र भावुक बनाउने हुनुपर्नेछ । भिडियो १–३ मिनेटभित्र सक्नुपर्नेछ । सिर्जनात्मक प्रस्तुति दिनुपर्नेछ । भिडियोमा स्पष्ट आवाज हुनुपर्नेछ । सबै उमेरका व्यक्ति यो प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । भिडियो टिकटक, फेसबुक र इन्स्टाग्राममा राख्न सकिनेछ ।
प्रथम हुने विजेताले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार २० जना सहभागीलाई ‘रोल नं १’को एकएकवटा टिकट पाउनेछन् । विजेता घोषणा जेठ २५ गते गरिनेछ ।
विनोद पौडेलको निर्माण रहेको चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।




