‘काजी पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु’- विपिन कार्की


लक्ष्मण रिजालको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘काजी’ का प्रचार सामग्रीले दर्शकको मन जितिरहेका छन्। गीत, ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेको बेला निर्माण टिम उत्साहित देखिएको छ। विपिन कार्की र केकी अधिकारी प्रमुख भूमिकामा रहेको चलचित्रमा विपिनले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।

उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’ को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो। अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्‍यो ।’

विपिनका अनुसार चलचित्रले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ। उनले श्रीमान–श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुशी भएर बाँच्ने भावनालाई चलचित्रको केन्द्रमा राखिएको बताए।

उनले भने, ‘साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुशीमा आफ्नो खुशी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ।’ उनले काजीको पात्रलाई आफ्नो जीवनसँग नजिक महसुस गरेको बताए। ‘म आफैँ पनि एउटा श्रीमान् हुँ। त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु। अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,’ उनले भने।

चलचित्रको समय परिवेश २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’ को विरासत बोकेको युवक भएको उनले बताए। प्रेममा डुबेको, बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उनले यसलाई चुनौतीपूर्ण र नयाँ अनुभवका रूपमा लिएको बताए ।

चलचित्रको ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले अहिलेको नेपाली चलचित्रभन्दा फरक स्वाद दर्शकले ‘काजी’ मा पाउने दाबी गरे । विशेषगरी ‘वारि बर पारि पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले पनि चलचित्रले राम्रो माहोल बनाइरहेको उनको भनाइ छ ।

उनले दर्शकलाई ‘काजी’ हेर्न आग्रह गर्दै यो चलचित्रले निराश नबनाउने विश्वास व्यक्त गरे । ‘यो घर–घरको कथा हो। दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ। अहिले आइरहेका चलचित्रमध्ये फरक दृष्टिकोणको चलचित्र हो,’ उनले भने।

चलचित्रमा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन् । क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ र असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्