विपिन र जसिता उत्कृष्ट अभिनेता र अभिनेत्री, पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’


‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ मा उत्कृष्टलाई सम्मान र अवार्ड वितरण गरिएको छ। शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा चलचित्र ‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ। चलचित्रले उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेता उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेको छ। चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नविन चौहानले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमे। त्यस्तै चलचित्र ‘जेरी अन टप’ बाट जसिता गुरुङ्गले उत्कृष्ट अभिनेत्रीको अवार्ड हासिल गरिन्।

अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ। कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले र उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ ले जितेको छ। यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’ का निर्माता सन्तोष सेनलाई सम्पानित गरियो।

समारोहमा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, वरिष्ठ कलाकार तथा निर्देशक/निर्माता रेखा थापा, अभिनेता दिल श्रेष्ठ, कलाकार हिमेश पन्त, निर्माता प्रेम पुरी, कलाकार पवित्रा साँकी (मिस पबि), गीतकार हर्क साउद, महोत्सवकी सद्भावना दूत तथा अभिनेत्री सुरक्षा पन्त, निर्माता तथा निर्देशक सन्तोष सेन लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

यस वर्षको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गत वैशाख १२ गते सुर्खेतबाट शुभारम्भ भएको थियो। तत्पश्चात् यसै महोत्सवको स्थानीय संस्करणको रूपमा सल्यानको कुपिण्डे दह परिसरमा ‘कुपिण्डे दह चलचित्र तथा पर्यटन महोत्सव’ समेत आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्