चलचित्र ‘गंगा रानी’ मा बर्षा शिवाकोटी अनुबन्ध
राजबहादुर सानेको निर्देशनमा तयार हुने चलचित्र ‘गंगा रानी’ मा अभिनेत्री बर्षा शिवाकोटी अनुबन्ध भएकी छिन्। अभिनेत्री शिवाकोटीलाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ । रातो पहिरनमा देखिएकी वर्षा सिवाकोटी पोस्टरमा आत्मविश्वासी देखिएकी छिन् । उनको हेराइ र अभिव्यक्तिले चलचित्र भित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ । पृष्ठभूमिमा पुराना घरहरू र बस्तीको परिवेश देखाइएको छ ।

आहा फिल्मस्को प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता कमलप्रसाद शर्मा हुन् । निर्देशक सानेको नै काठा रहेको चलचित्रको निर्माण टिमले कास्टिङ कलको आह्वान गरेको छ । चलचित्रको मुख्य पात्रहरूमा ४ महिला र ४ पुरूष आह्वान गरेको हो । पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

निर्माण टिमका अनुसार इच्छुक कलाकारहरूले आफ्नो परिचय भिडियो वा पोर्टफोलियो सहित दिइएको इमेल [email protected] मा आवेदन पठाउन सक्नेछन् । यस बाहेक सम्पर्कका लागि फोन र व्हाट्सएप नम्बर पनि उपलब्ध गराइएको छ । आवेदन अवधि जेठ २० सम्म रहनेछ ।




