‘द ब्ल्यू लाइट’ निर्देशक बलिराम चौहानले गरे चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ को घोषणा
‘द ब्ल्यू लाइट’ निर्देशन गरेका निर्देशक बलिराम चौहानले नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् । चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्याएर दिने तनाव हो ।
थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लब साइन, छरिएका दुईटा डायरी र पेन । जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । तथा थिम पोस्टरमा रहेको ग्रे कलर । यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ ले भन्ने संकेत गरेको छ ।
‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक, छायांकन, रिलिज डेटबारे निर्देशकले केही बोलेका छैनन् । निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही बताएका छैनन् ।




