प्रताप दासको स्वरमा ‘नौ डाँडा काटेर’ सार्वजनिक
म्युजिकल सर्ट फिल्म ‘तिमी-एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा तयार भएको गीतमा प्रताप दासको स्वर सुन्न सकिन्छ। प्रताप शाहीको शब्द रहेको गीतका सङ्गीतकार सुवास पुन मगर हुन्। गीतको भिडियोमा सामाजिक सञ्जाल (फेसबुक) बाट सुरु हुने प्रेम, पारिवारिक हैसियत र वर्गमा हुने अन्तर तथा सहर र गाउँको परिवेशलाई अर्थपूर्ण संवादसहित प्रस्तुत गरिएको छ।

उत्तम हुमागाईँको छायाङ्कन रहेको भिडियोमा हरि हुमागाईँको निर्देशन तथा सम्पादन रहेको छ। भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्ले लगायतलाई देख्न सकिन्छ।
नर्वेमा बसोबास गर्दै आएका नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ ले गीतको निर्माण गरेको हो। गीत सार्वजनिक गर्नुअघि निर्माण टोली भक्तपुरस्थित ‘सहारा केयर सेन्टर’ पुगेर त्यहाँ आश्रित वृद्ध वृद्धाहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो। उक्त सहयोग हस्तान्तरण कार्यक्रममा भिडियोका निर्देशक हरि हुमागाईँ तथा कलाकारहरू आशीर्वाद क्षेत्री र चेतना काफ्ले लगायतको उपस्थिति रहेको थियो।
धड्कन नेपाल ग्रुपका संस्थापकहरू सङ्गीतकार मगर र गीतकार शाही हुन्। लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहेका सङ्गीतकार मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्षसमेत हुन्। यस प्रोजेक्टका व्यवस्थापक दिपेन गौतम हुन् भने कार्यकारी निर्माता भगवान भुजेल हुन्।




