विजय बराल घाइते भएपछी रोकियो ‘सिन्दुरे जात्रा’ को छायांकन


जेठ १ गतेदेखि पर्वतको कुस्मामा छायांकन भैरहेको चलचित्र ‘सिन्दुरे जात्रा’ को छायांकन रोकिएको छ । अभिनेता विजय बराल घाइते भएपछि चलचित्रको छायांकन रोकिएको हो। घोडाबाट लडेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको छ । करिब १५ दिनको सेड्युल सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा बराल दुर्घटनामा परेका हुन् ।

निर्माण टिमका अनुसार उनको दाहिने हात फ्याक्चर भएको छ । तत्कालै कुस्मा लगी थप उपचारका लागि पोखरा पुर्‍याइएका बरालको दाहिने हातको नाडीमा जोर्नी हडिड्मा ‘फ्याक्चर’ देखिएपछि पलास्टर गरिएको टिमले जनाएको छ । मुख्य कलाकार नै घाइते भएपछि चलचित्रको छायांकन हाललाई पूर्ण रूपमा रोकिएको छ । निर्देशक सरोज पौडेलका अनुसार चलचित्रको कुल ३५ दिनको छायांकन सेड्युल तय गरिएको थियो । तर, यो अप्रत्यासित दुर्घटनापछि कलाकारसहितको टोली काठमाडौं फर्किएको छ ।

निर्देशक पौडेलले भने, ‘विजयजीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो । चिकित्सकको सल्लाहअनुसार उहाँलाई कम्तीमा ३५ देखि ४० दिन पूर्ण आरामको आवश्यकता छ । त्यसैले बाँकी छायांकन अब आगामी असार १५ गतेपछि मात्र सुरु हुनेछ ।’ अभिनेता विजय बरालले भने,‘काम गर्ने क्रममा अचानक दुर्घटना हुन पुग्यो । यसले गर्दा टिमको सेड्युल केही समयका लागि प्रभावित भएको छ । अहिले डाक्टरको निगरानीमा छु र केही हप्ताको आरामपछि पुनः काममा फर्किनेछु ।’

‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन् ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने भूमिकामा छन् । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ ।

प्रतिक्रिया दिनुहोस्