चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुँदै


बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट भएका ६ चिनियाँ चलचित्र नेपालमा प्रदर्शनमा हुने भएका छन्। विभिन्न संस्करणमा उत्कृष्ट भएका चलचित्र अब नेपालमा प्रदर्शनमा आउने भएका हुन्। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा‘ अन्तर्गत रहेर आगामी जुन २ देखि ४ सम्म ६ अवार्ड विजेता चिनियाँ चलचित्र काठमाडौंमा देखाइने भएको हो ।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर चलचित्र प्रदर्शन गर्ने तय भएको हो । काठमाडौंस्थित चिनियाँ सास्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग रहेको छ।

ठमेलस्थित छायाँ सेन्टरमा ६ वटै चलचित्रहरु सशुल्क प्रदर्शन गरिने व्यवस्थापक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
चिनियाँ चलचित्र उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार हुने उद्देश्यका साथ आफूहरू जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।

अध्यक्ष पाठकले भने, ‘चिनियाँहरू नेपाली बजारमा आकर्षित भइरहेको पाइन्छ । जसका कारण नेपाली चलाचित्रकर्मीहरूलाई चीन भ्रमण गराउने तथा चीनमा नेपाली चलचित्रको महोत्सव गराउने कार्यमा चिनियाँ सहयोग बढ्न थालेको छ । हामीले पनि चिनियाँ चलचित्रहरूलाई नेपाली दर्शकमाझ प्रदर्शनमा सहकार्य गरेर दुई देशका चलचित्रकर्मीबीच सम्बन्ध विस्तार होस् भन्ने पक्षमा केन्द्रित छौं । नेपाली चलचित्र चीनको ठूलो बजारमा प्रवेश गर्ने माध्यम यस्तै कार्यक्रमहरू उपयुक्त अवसर बन्न सक्छन् भन्ने ठानेर बिगत लामो समयदेखि हामी अभियानमा छौं र त्यो समय नजिक आयो भन्ने हामीलाई लागेको छ।’

जनु २ (जेष्ठ १९) मा प्रदर्शन हुने चलचित्र


कार्यक्रमको पहिलो दिन तीन चलचित्र देखाइने तालिका रहेको छ । बिहान साढे ११ बजे सुरु हुने यस कार्यक्रम मा पहिलो चलचित्र ‘ट्रयाप्’ प्रदर्शन हुनेछ। सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथामा आधारित रहेर चलचित्र निर्माण भएको छ।

क्राइम थ्रिलर जनरामा बनेको चलचित्रका निर्देशक सागर झाङ हुन् । यसले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सह-अभिनेताको अवार्ड जितेको थियो । निर्देसक झाङ्ग को दर्सक संग प्रश्नोत्तर पनि हुने जनाइएको छ।

दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित ‘बियोन्ड द स्काइज’ युद्धको कथामा बनेको चलचित्र हो ।

बेलुको ५ बजेबाट प्रदर्शन हुने चलचित्र ‘समर डायरी’ का निर्देशक वु शुआङ हुन् । आमाको खोजीमा निस्किएका एक पात्रको यात्रामा चलचित्र बनेको छ ।

अन्य चलचित्र (जेष्ठ २०-२१)

रुई कुई र सियाङ लिउ निर्देशित चलचित्र ‘लस्ट इन द स्टार’ प्रदर्शन हुने तालिका छ । चलचित्र गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ ।

’द स्याडोलेस टावर’ झाङ लु निर्देशित चलचित्र प्रेम कथामा आधारीत छ ।

दाशाङ कोङ निर्देशित साइन्स फिक्सन चलचित्र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन हुनेछ । एलियनको खोजीको कथामा बनेको यो चलचित्र ब्यङ्ग्यात्मक वृत्तचित्र शैलीमा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्