उत्तम र निरुताले सके ‘ सारथी’ छायांकन


‘दर्पण छाया’ जोडी उत्तम प्रधान र निरुता सिंह मुख्य भूमिकामा रहेको चलचित्र  ‘सारथि’ को छायाङ्कन अन्तिम चरणमा पुगेको छ।  वैशाख १५ गतेबाट छायाङ्कन सुरु गरिएको चलचित्रको एक महिने सेड्युल  गुर्जा खानीमा सम्पन्न भएको छ।  अव एक दिनको काठमाडौँको  छायाङ्कन बाँकी रहेको निर्देशक कुमार गजुरेलले बताएका छन्। त्यो लगत्तै पोस्ट प्रोडक्सनको काम सकेर रिलिज मिति तय गर्ने तयारीमा निर्माण टिम रहेको छ। गुर्जा खानी म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो। 

नेपाली चलचित्र क्षेत्रको सफल जोडी उत्तम र निरुता करिब दुई दशकपछि चलचित्र क्षेत्रमा देखिन लागेका हुन्। सामाजिक कथावस्तुमा आधारित चलचित्रले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुङ्गा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको छ । 

चलचित्रमा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कँडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

किम्भे प्रोडक्सन तथा धिरज इन्फिनिटी फिल्मस्‌को सहकार्य रहेको चलचित्रका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सह निर्माता, प्रदीप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् । चलचित्रको छायाङ्कन सङ्कल्प भुजेलले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्