किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो । कथाले यो चलचित्रको केन्द्रमा बुवा हुने संकेत गर्छ ।

त्यसो भए यो चलचित्रको हिरो ‘बा’ को हो त ? ‘बा एक योद्धा’ले विस्तारै आफ्ना कलाकार सार्वजनिक गर्दै गएको छ । त्यसैक्रममा केही दिनअगाडि मात्रै सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले सार्वजनिक गरेको थियो । त्यसअघि झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्तको नाम बाहिर ल्याइएका थियो ।
छायांकन सम्पन्न भएर पोस्ट प्रोडक्सनमा रहेको चलचित्रले चलचित्रको शिर्षक पात्र ‘बा’ भने अहिलेसम्म सार्वजनिक गरेको छैन।
को हुन् त बा ?
“हामी विस्तारै यो चलचित्र बारे थप जानकारी दिँदै जाने छौँ । हाम्रा कलाकार र अन्य जानकारी पनि विस्तारै आउँदै जानेछ,” निर्देशक हरि लम्सालले भने, “हामी हाम्रो चलचित्रको बा को हो भनेर पनि केही समयमा जानकारी दिने नै छौँ ।”
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका लम्सालले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।




