‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा नहकुल खड्का बने उत्कृष्ट सम्पादक
यो बर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ शुक्रबार राष्ट्रपति कार्यलयमा सम्पन्न भएको छ। विभिन्न विधामा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट वितरण गरिएको अवार्ड चलचित्र विकास बोर्डले हरेक वर्ष आयोजना गर्दै आएको छ। यो बर्षको सम्पादन तर्फको अवार्ड नहकुल खड्काले प्राप्त गरेका छन्। करिव १७ बर्ष देखि सम्पादनमा विताएका नहकुलका यो बर्ष सम्पादित चलचित्र ‘के घर के डेरा : घर नम्बर २’, ‘कोसेढुंगा’ र ‘हरिबहादुरको जुत्ता’ लगायत चलचित्र यस वर्षको पुरस्कार प्रतिस्पर्धामा सहभागी थिए। उनले चलचित्र ‘कोसेढुंगा’ बाट अवार्ड हात पारेका हुन्। नहकुल १९ बर्ष देखि नेपाली चलचित्र सम्पादनमा सक्रिया रहेका छन्।

धनकुटामा जन्मिएका खड्काले सहायक सम्पादकका रूपमा यात्रा थालेका थिए। सहसम्पादक हुँदै मुख्य सम्पादकका रूपमा आफ्नो परिचय बनाएका उनले करिव २०० बढी चलचित्रमा काम गरिसकेका छन्। चलचित्र क्षेत्रमा उनी शान्त स्वभावका, जिम्मेवार र कामप्रति प्रतिबद्ध प्राविधिकका रूपमा चिनिन्छन्। प्रचारमा भन्दा काममा केन्द्रित रहने उनको स्वभाव रहेको सहकर्मीहरू बताउँछन्।
सम्पादन कक्षमा लामो समय बिताउँदै खड्काले चलचित्रको दृश्यभाषा, कथाको संरचना र पात्रको भावनात्मक यात्रालाई बुझ्ने अनुभव हासिल गरेका छन्। सामान्य बुझाइमा चलचित्र सम्पादनलाई दृश्य काट्ने र जोड्ने कामका रूपमा लिइन्छ। तर सम्पादकको भूमिका त्यतिमै सीमित हुँदैन। कुन दृश्य राख्ने, कुन हटाउने, एउटै दृश्यका धेरै ‘टेक’मध्ये कुन प्रयोग गर्ने र एउटा दृश्यबाट अर्को दृश्यमा कथा कसरी लैजाने भन्ने निर्णय सम्पादन कक्षमै हुन्छ।
सम्पादकले चलचित्रको गति निर्धारण गर्छ। दृश्यबीचको लय मिलाउँछ र कथाले दर्शकमा पार्ने भावनात्मक प्रभाव निर्माण गर्छ।
छायांकन गरिएका सयौं दृश्य र हजारौं क्लिपबाट उपयुक्त अंश छनोट गरेर एउटै कथा तयार पार्नु धैर्य, प्राविधिक ज्ञान र सिर्जनात्मक दृष्टि आवश्यक पर्ने काम हो।
खड्काले बदलिँदो प्रविधिसँग आफूलाई अनुकूल बनाउँदै चलचित्र सम्पादनमा निरन्तर सक्रियता कायम राखेका छन्। निर्देशकको परिकल्पना, छायाकारले खिचेका दृश्य र कलाकारको अभिनयलाई एउटै कथात्मक प्रवाहमा जोड्ने काम सम्पादकले गर्छ। यही कारण सम्पादनलाई चलचित्र निर्माणको अन्तिम लेखन पनि भनिन्छ।
राष्ट्रिय चलचित्र पुरस्कारले खड्काको कामलाई राष्ट्रिय तहमा पहिचान दिएको छ। यससँगै आगामी चलचित्रमा अझ परिष्कृत काम प्रस्तुत गर्ने जिम्मेवारी पनि थपिएको उनि बताउछन्।




