मङ्सिरमा विजय र अञ्जनाको ‘सिन्दुरे जात्रा’ रिलिज तय


छायांकनको अन्तिम चरणमा रहेको चलचित्र ‘सिन्दुरे जात्रा’ ले प्रदर्शन मिति तय गरेको छ। सरोज पौडेलको निर्देशनमा तयार भैरहेको चलचित्रले मङ्सिर ४ गतेलाई आफ्नो रिलिज मिति तय गरेको हो।
“वितरकसँग सल्लाह गरेर हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,” निर्देशक पौडेलले भने, “यो मितिमा हाम्रो चलचित्रलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र पर्वतको कुस्मा नगरपालिकामा छायांकन भैरहेको थियो। तर छायांकनका क्रममाा मुख्य अभिनेता विजय बरालको हात फ्याक्चर भएपछि अहिले निर्माण टिमले केही समयलाई ब्रेक लिएको छ । बाँकी छायांकन असार १५ पछि मात्रै हुनेछ ।

विजय बराल र अञ्जना बराइली मुख्य भुमिकामा रहेको चलचित्रमा विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ। नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछी विजय, अञ्जना र सरोजको सहकार्य भएका कारण पनि यो चलचित्रलाई निकै चासोका साथमा हेरिएको छ।

चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ । चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन् । बाबु श्रेष्ठले छायांकन रहने चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्