पल र चन्द्रको तेश्रो सहकार्य, ‘आ बाट आमा २’ पछि नयाँ चलचित्र गर्दै
अभिनेता पल शाह र निर्देशक चन्द्र पन्त एकअर्कासंग काम गर्न निकै सहज देखिएका छन्। ‘आ बाट आमा’ सुपरहिट भएपछि यतिबेला चन्द्र र पल यसको सिक्वेल ‘आ बाट आमा २’ मा व्यस्त रहेका छन्। चलचित्रको पहिलो चरणको छायांकन सम्पन्न भैसकेको छ। दोश्रो सेड्युलको छायांकन पनि चाडै गर्ने तयारीमा निर्माण टिम रहेको छ । पहिलो सेड्युलको छायांकन सम्पन्न भए लगत्तै पल र चन्द्रले तेश्रो चलचित्रमा पनि सहकार्य गर्ने भएका छन्। चन्द्रले पलसंग यसका लागी औपचारिक सम्झौता नै गरेका छन्।

चलचित्रको अन्य जानकारी भने चन्द्रले दिएका छैनन्। निर्देशक पन्तले भने, “अहिले चलचित्रका लागि पल शाहलाई मात्र अनुबन्ध गरेका छौँ। यो हाम्रो तेस्रो सहकार्य हो। अन्य कलाकार तथा प्राविधिकहरूको नाम भने बिस्तारै सार्वजनिक गर्दै जानेछौँ।”
उनले ‘आ बाट आमा २’ को सुटिङ लगभग सकिएकाले अब डबिङतर्फ लाग्ने जानकारी दिए। उनका अनुसार नयाँ चलचित्रको हकमा सबै कलाकार तथा प्राविधिक फाइनल भएपछि मात्रै छायांकनको औपचारिक घोषणा गरिने छ।
उनीहरूको दोस्रो सहकार्य रहेको ‘आ बाट आमा २’ आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउँदैछ।
आर्या इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का,दिलिप अखेडाको मुख्य भूमिका रहने छ।
निर्देशक पन्तकै लेखन र पटकथा रहेको चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।




