‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक
चलचित्र ‘बाः एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको चलचित्रको पोष्टरमा दुई प्रमुख पात्रलाई प्रस्तुत गरिएको छ। पोष्टरमा दिब्य देव र सुहाना थापालाई प्रस्तुत गरिएको छ। पोष्टरमा दिव्य देव बा र सुहाना छोरीको रुपमा रहेकी छिन्।

पोष्टरमा दिव्य देव तनावमा देखिएका छन् । उनीसँगै छिन्, ‘बा’ कि छोरी । छोरीको भूमिकामा सुहाना थापा रहेको पोस्टरले खुलाएको छ । उनी सामान्य पहिरनमा गाउँतिर बोक्ने झोला बोकेर तनावमा हिँडिरहेको देखिन्छ । घरको भित्तामा टाँसेको फाटोमा चारजनाको सानो परिवार रहेको देखाउँछ । जहाँ एक छोरी, एक छोरा र बाबु–आमा छन् ।
फलैँचामा बाबु र आमा बसिरहेको दृश्य र आकाशमा देखिएको हवइजहाजले परिवारको कोही एक सदस्य वैदेशिक रोजगार र वा पढ्न विदेश गएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । छेउमा मोटरसाइकल र पोस्टरको कलर मध्यमबर्गीय परिवार रहेको संकेत गर्छ । यो चलचित्रमा दिब्य देबको अपोजिटमा झरना थापा रहेको पोस्टरमा रहेको फोटोले देखाउँछ ।
चलचित्र भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा हो । यो चलचित्रमा दिब्य देव, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । चलचित्रका निर्माता वसन्त लम्साल हुन् ।




