‘बाः एक योद्धा’ को नयाँ पोस्टरमा के छ ?


हरि लम्सालको निर्देशनमा तयार भएको चलचित्र ‘बाः एक योद्धा’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । भदौ १९ गतेबाट रिलिज हुने चलचित्रको दुई नयाँ पोष्टर निर्माण टिमले सार्वजनिक गरेको हो। चलचित्रका मुख्य कलाकार समावेश गरेको पोष्टरले पूर्ण पारिवारिक चलचित्र संकेत गर्छ।

पहिलो पोस्टरमा स- परिवार बसेर तस्बिर खिचाइरहेको जस्तो देखिएको छ । जसमा दिव्यदेव र झरना थापा बसिरहेका छन् भने बाँकी तीन सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन् ।

घरको आँगनमा तस्बिर खिचाइरहेका उनीहरू सबै हँसिलो चेहरामा छन् । भर्खरै रातो माटोले लिपपोत गरेर चिटिक्क पारिएको घरले दसैँको समयको संकेत गरिरहेको छ । साथमा कुकुर पनि छन् । यसले इमानदार परिवारको बिम्वको काम गरेको छ । तस्बिरमा देखिएका पात्र र उनीहरूको पहिरनले मध्यम बर्गीय परिवार रहेको अनुमान लगाउन सकिन्छ ।

दोस्रो पोस्टरका पात्रको चेहरामा कौतुहलता र तनाव छ । यो पोस्टरमा रहेका झरना थापा र सुहाना थापाको मुहारमा केही अचानक आएको अनपेक्षित घटनाले कौतुहलता सिर्जना गरेको देखिन्छ । यो पोस्टरमा रहेका दिव्यदेव र अनिल बुढाथोकीको अनुहारमा रिस देखिन्छ । यो पोस्टरमा रहेका अर्का पात्र हुन्, माओत्से गुरुङ । उनको अनुहारमा भने कुटिल मुस्कान देखिएको छ । यसले उनी खलपात्रका रुपमा त रहेका छैनन् भनेर शंका गर्ने ठाउँ छ ।

चलचित्रमा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् । निर्देशक हरि लम्सालको लेखन रहेको चलचित्र कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् । चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् ।

प्रतिक्रिया दिनुहोस्