‘अक्षरा’ को धमाधम डबिङ, मुख्य भूमिकामा अभिनेत्री न्यान्सी खड्का उत्साहित


भदौ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘अक्षरा’ को यतिबेला डबिङ्गको काम भैरहेको छ। न्यान्सी खड्का मुख्य भुमिकामा रहेको चलचित्रको डबिङ उनी यतिबेला गरिरहेकी छिन्। डबिङका क्रममा पर्दामा आफ्नो अभिनय र पात्रले पूर्ण न्याय पाएको देख्दा उनी निकै उत्साहित र हर्षित देखिएकी थिइन्। पर्दामा आफ्नो काम देखेर उनी आफैँसमेत चकित परेको बताउँदै उनले आफ्नो भूमिकालाई न्याय दिन सकेकोमा खुसी व्यक्त गरेकी छन्।

चलचित्र ‘१२ गाउँ’ मार्फत अभिनय यात्रा सुरु गरेर दर्शकको मन जितेकी न्यान्सीको मुख्य अभिनेत्रीका रूपमा यो पहिलो चलचित्र हो। यसअघि उनले अभिनेता अनमोल केसीसँग ‘बाटुलो जून’ मा पनि अभिनय गरिसकेकी छन्। ‘अक्षरा’ मा एकल मुख्य अभिनेत्रीको रूपमा ठूलो जिम्मेवारी रहेकाले पनि उनले निकै मिहिनेत गरेकी छन्।

मिस नेपाल इन्टरनेसनल २०२२ की विजेता हुन्, जसले जापानमा आयोजित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवमय प्रतिनिधित्व गरेकी थिइन्।

चलचित्रमा न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ। यी दुईका साथमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको चलचित्रमा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा सोनी थापा ढुङ्गाना को प्रस्तुति रहेको चलचित्रमा विनयराज पौडेलको लेखन तथा निर्देशन रहेको छ। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। चलचित्रको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखन रहेको छ।

प्रतिक्रिया दिनुहोस्