निर शाहको ‘कमला मिस’ पोष्टरमा के छ ?
बरिष्ठ कलाकार निर शाहको निर्देशनमा तयार भएको चलचित्र ‘कमला मिस’ को पोष्टर सार्वजनिक भएको छ। साउन २२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको पोस्टरमा एक महिलाले सानो बालकलाई ममतापूर्वक अँगालोमा च्यापेर बसेको दृश्य प्रस्तुत गरिएको छ। पोस्टरले आमा–बालकको सम्बन्ध, माया, त्याग र भावनात्मक संघर्षमा आधारित कथावस्तुको संकेत गर्छ। मनोवैज्ञानिक कथावस्तुमा आधारित चलचित्र
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित रहेको छ।

चलचित्रमा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडा लगायत कलाकारहरूको अभिनय रहेको छ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले ‘कमला मिस’मार्फत सामाजिक यथार्थ र पारिवारिक भावनालाई केन्द्रमा राख्दै फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन्। चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।




