प्रिमियरमा प्रसंशा बटुलेको चलचित्र गौँथली’को अग्रिम टिकट बुकिङ खुल्ला


प्रिमियरमा प्रसंशा बटुलेको चलचित्र गौँथली’को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । साउन १ गते शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्रको एडभन्स बुकिङ्ग देशभरका अधिकांश मल्टिप्लेक्समा खुलेको छ। देशकै ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्स, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआई, वान सिनेमाज लगायतले शो निकालेका छन् ।

देशभरका अधिकांश हलहरुले यो चलचित्रको अग्रिम टिकट बुकिङ खुलाएका छन् । चलचित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’का अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ । उनले देशभरका हलहरूबाट ‘गौँथली’ले २०० भन्दा बढी शो पाउने दाबी गरेका छन् ।

‘शो खुल्ने क्रममै छ, अहिले नै यति शो भन्न सकिन्न,’ वितरक श्रेष्ठ भन्छन्,‘तर देशभरबाट २ सय भन्दा बढी शो आउँछ ।’

कपिल रिजालले निर्देशन गरेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् भने निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ ।

चलचित्रले प्रिमियरमा पाएको उत्कृष्ट प्रतिक्रिया, दर्शकले रुचाएको प्रमोसनल कन्टेन्टका कारण यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्