‘एक्का मिस्सी बादशाह’ मार्फत चलचित्रमा फर्कीईन् साम्राज्ञी आरएल शाह
अभिनेत्री साम्राज्ञी आरएल शाह केहि समयको विश्रामपछि चलचित्रमा फर्किएकी छिन्। केहि समय चलचित्रले बक्स अफिसमा राम्रो व्यापार नगरेपछि व्यक्तिगत जीवनमा फोकस गरेकी शाह ‘एक्का मिस्सी बादशाह’ मार्फत चलचित्रमा फर्किएकी हुन्। पहिलो चलचित्र रिलिजबाट नै चर्चामा रहेकी शाहको यो चलचित्रलाई संजय राईले निर्देशन गर्नेछन्। यो उनको डेव्यु निर्देशकीय चलचित्र हो। राईको जन्मदिनको अवसर पारेर चलचित्रको औपचारिक घोषणा शनिबार गरिएको हो।

यूके बस्दै आएका सञ्जय लामो समयदेखि चलचित्र मेकिङ र निर्देशनप्रति रुचि राख्दै आएका थिए । मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा शाह ‘आश’ पात्रको भूमिका देखिनेछिन् । निर्माण टिमले उनको बोल्ड लुक्ससहितको तस्बिर सार्वजनिक गर्दै उनको पात्रबारे जानकारी दिएको छ ।
केही समयको अन्तरालपछि नयाँ चलचित्रमा जोडिएकी साम्राज्ञीले आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले चलचित्रमा ग्याप देखिएको बताउँदै यो चलचित्रमा आफ्नो भूमिका साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको बताउँदै चलचित्रलाई लिएर निकै उत्साहित रहेको जानकारी दिइन् ।

चलचित्रको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ । जित, हार र सफलताको यात्रालाई केन्द्रमा राख्ने भाव बोकेको यो स्लोगनले चलचित्रको कथावस्तुको संकेत गर्छ । डेब्यु निर्देशक सञ्जयले चलचित्र युवापुस्ताको कथामा आधारित रहेको बताए । उनका अनुसार यो अहिलेको सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा केन्द्रित रहनेछ ।
चलचित्रको कार्यकारी निर्मातामा ‘रमिताको पिरती’ की निर्देशक सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । चलचित्र फागुनबाट छायांकनमा जानेछ। चलचित्रका प्रमुख दूई पात्र ‘क्रिश’ र ‘अर्जुन’ का लागी निर्माण टिमले अडिसन आह्वान गरेको छ।




