सकियो विजय र अञ्जनाको ‘सिन्दुरे जात्रा’ को छायांकन, मङ्सिरमा रिलिज हुँदै
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । जेठ १ गतेबाट सुरु भएको चलचित्रको छायांकन दुई चरण गरेर मंगलबार सकिएको हो। १५ दिनको छायांकन सकिएलगत्तै चलचित्रमा मुख्य नायक विजय बराल घाइते भएपछी चलचित्रको छायांकन केहि महिना रोकिएको थियो।
उनको दाहिने हातको नाडीमा चोट लागेको थियो । विजय पूर्ण रूपमा स्वस्थ भएपछि पुनः दोस्रो चरणको छायांकन सुरु गरी मंगलबार समापन गरिएको हो ।

दुई चरणमा बाँडिएको यो चलचित्रको छायांकनका लागि ४० दिन लागेको निर्देशक सरोज पौडेलले जानकारी दिए । “हामीले धर्य र मेहनत गरेर राम्रो चलचित्र खिच्ने प्रयास गरेका छौँ । यो मेहनत र लगावका लागि म मेरो सबै टिमलाई धन्यवाद भन्न चाहन्छु,” निर्देशक पौडेलले भने, “मंसिर ४ गते दर्शकले एउटा राम्रो चलचित्र हलमा हेर्न पाउनु हुनेछ ।”
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ । चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्मातामा छन् । पदम बहादुर श्रेष्ठ (बाबु) डीओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।





