सौगात बस्नेतको डेव्यु निर्देशनमा चलचित्र ‘पन्चमी’ को निर्माण घोषणा


सौगात बस्नेतको डेव्यु निर्देशनमा चलचित्र ‘पन्चमी’ को निर्माण घोषणा गरिएको छ। चलचित्रको एक थिम पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले औपचारिक घोषणा गरेको हो। डेव्यु निर्देशक बस्नेत यस अगाडी चिफ एडी र कार्यकारी निर्माताको भूमिकामा काम गरिसकेका छन् ।

सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र । यी सबै संयोग नभई पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको निर्देशकको भनाइ छ, जुन चलचित्र हेर्दा मात्र स्पष्ट हुनेछ ।

पोस्टरमा ‘आई हेट हु एभर कमस् लेट’ भन्ने लाइन छ, जसको सन्दर्भ अझै रहस्यमै छ । कुन सन्दर्भमा कसका लागि यो लाइन प्रयोग गरिएको हो भन्ने कुरा भने अझै रहस्यमै छ ।

यसबारे निर्देशक बस्नेतले भने, ‘टाइटलमा जसरी हामीले डिजाइन गरेका छौँ, यो अहिले हेर्दा केही क्लिष्ट भए पनि चलचित्र हेर्दा सरल र सहज देखिनेछ । चलचित्रसँग यो सबै रिलेट भएर आउनेछ । त्यतिबेला यो थिमको जस्टिफाइ हुनेछ । यो एक साइकोलोजिकल मिस्ट्री थ्रिलर हुनेछ ।’

‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण हो, तर निर्देशक बस्नेतले कुन उपन्यास र कुन लेखकको कृतिमा यो आधारित छ भन्ने कुरा अहिले खुलासा गरेका छैनन् ।

कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन । आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने र छिट्टै चलचित्रको झलक आउने निर्देशक बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्