दर्शकको दिल कब्जा गर्दै ‘बेहुली’ को गीत ‘दिलमा ठाउँ छ’
चलचित्र ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा दर्शकको राम्रो साथ पाएको छ। १६ लाख बढी पटक युट्युवमा हेरिएको चलचित्रको गीतमा झन्डै ३ लाख टिकटक भिडियो बनेका छन् भने फेसबुक र इन्स्टाग्रामका रीलहरूमा पनि गीत भाइरल रहेको छ।

छोटो समयमै गीतले यति ठूलो सफलता हात पार्नु पछाडि यसको लोक फ्लेभर र सुमधुर सङ्गीत मुख्य कारण हो। सङ्गीतकार अर्जुन पोखरेलले तयार पारेको क्याची धुन एकपटक सुनेपछि जोकोहीको मुखमा सहजै झुण्डिन्छ। अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको गायकीलाई दर्शकले रुचाएका छन्। गीत सफलताको अर्को कारण हुन् पारस बम ठकुरी (कुल ब्वाइ)। उनको टिकटक क्रेज लोभलाग्दो रहेको छ। यसै प्रतिफल सोसियल मिडियामा गीतको सफलता देखिएको छ। भिडियोमा पारसको साथमा दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ रहेका छन्।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा भिडियोमा देखिएका चार कलाकारका अलावा सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन्। प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रमा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। त्यसैगरी, दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्। चलचित्र भदौ २६ गतेबाट रिलिज हुँदैछ ।





